राजनीति

जसपाका कुन नेता कुन मन्त्रालयमा ? यस्तो छ सम्भावना


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच आज पनि छलफल हुँदैछ । यही छलफलले जसपाका ठाकुर पक्षका नेताहरू सरकारमा जानका लागि मन्त्रालयको जिम्मेवारी टुंगो लाग्ने छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा दिउँसो बालुवाटार जान लागेको एक नेताले बताए। ‘मन्त्रालयको जिम्मेवारी, त्यसमा केही हेरफेर र शपथ ग्रहणको समय निश्चित गर्न जाँदै हुनुहुन्छ’, ती नेताले भने। शपथ ग्रहण पनि आजै हुनसक्ने जानकारी पाएको उनले बताए।

उनका अनुसार शीर्ष नेताहरुबीच ८ मन्त्री र २ राज्यमन्त्री लिएर शपथ गर्ने तयारी छ । ओलीले यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा आउन भनेको जसपाका नेताहरु बताउँछन् ।
ठाकुर पक्षका नेता राजेन्द्र महतोलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै, शरद सिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिल झालाई शहरी विकास मन्त्रालय, बिमल श्रीवास्तवलाई खानेपानी मन्त्री, उमाशंकर अरगरिया युवा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने तय भएको स्रोतले दाबी गरेको छ । गृह मन्त्रालय भने प्रधानमन्त्रीले जसपालाई नदिने निश्चित गरिसकेको छ । शीर्ष तहका सबै जसो नेताले मन्त्रालय पाउने भएका छन्।