राजनीति

ओली–माधवको लडाई, ‘न सकिन्छ, न सचिन्छ’ (भिडियोसहित)

न फुट–न जुट’


काठमाडौँ – पार्टीभित्रको विवाद समाधान गर्न वार्ता र संबाद गरिरहेको सत्तारुढ एमालेमा विभाजन र एकताका गतिविधि संगसंगै चलिरहेका छन् । फुट्न पनि नसक्ने र जुटेर जान पनि नसक्ने अवस्थाका बीच एकअर्कालाई धम्की र घुर्कि दिनेक्रम पनि चलिरहेकै छ ।

विहीबार वालुवाटारमा बोलाईएको एमाले स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा आएर स्थगित गरे । यसअघि जेठ १० मा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्काशित गरेका ओलीले विहीबारको बैठकमार्फत स्पष्टिकरण सोधिएका १२ जनामाथि थप कदम चाल्ने आँकलन गरिएको थियो । ठीक यसैबेला माधव नेपाल पक्षले भने छुट्टै भर्चुअल बैठक गरेर केन्द्रीय सदस्यहरुलाई एकताको प्रयासबारे व्रिफिङ गरेको छ । ओलीले बोलाएको बैठकमा सहभागि नभएको यो पक्ष एकताका लागि निरन्तर इमान्दार पहल भइरहेको बताउँछ ।

गत वर्षको बैशाखदेखि चर्किएको आन्तरिक शक्ति संघर्ष र करिब तीन महिना अघिदेखि एकैसाथ थालिएको वार्ता र विभाजनको प्रयासले एमालेको अस्तित्व नै यतिबेला संकटमा छ ।पार्टीभित्र प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीको कारबाही खाएर समानान्तर संरचना निर्माण र विपक्षी गठबन्धनमा सामेल भएर अघि बढेको माधव नेपाल पक्षले गत फागुन २८ का निर्णय फिर्ताको माग गर्दै आएको छ ।

अध्यक्ष ओलीबाट गरिएका एकलौटी निर्णय फिर्ता गरेर २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने माधव पक्षको अडानमा ओली सहमत छैन । सहमती खोज्नकै लागि दुबै पक्षका ५÷५ जना सदस्य रहने गरि गठन भएको कार्यदलले समेत विवाद निरुपण गर्न सकेन । त्यसयता ओलीले जब जब संकट पर्छ तब वार्ताको कार्ड फ्याक्ने र माधव पक्षले नयाँ पार्टी बनाएर अघि बढ्ने घुर्कि लाउँदैमा एमाले विवाद रुमलिएको छ ।

वैशाख ३० देखि ओली–नेपालमात्रै नभएर दुबै पक्षका नेताहरुबीच देखिनेगरी सहमतिको प्रयाससँगै विभाजनउन्मुख गतिविधि पनि कायमै छन् । ओली पक्ष एकताका लागि कटिबद्ध भन्दै कारबाहीश्रृखंला चलाइरहेका छन् भने माधव नेपाल पक्ष समानान्तर संरचना बनाउनेदेखि नयाँ पार्टी दर्ताको हदसम्म पुगेको छ । अझ पार्टी अध्यक्ष ओलीसंगै मिलेर एमालेमा रहने या पार्टी पुनर्गठन गरेर अघि बढ्ने भन्ने विषयमा नै माधव पक्षभित्र रडाको नै मच्चिएको छ ।