कोरोना विशेष

पिके सोलुखुम्बु टाप्टिङ समाजले पठायो गाउँमा १० लाख बराबरको स्वास्थ्य सामाग्री


काठमाडौँ – पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले १० लाख बराबरको स्वास्थ्य सामाग्री गाउँ पठाएको छ । स्वास्थ्य सामाग्री र औषधि ब्यवस्थापन गरी सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङमा पठाएको हो ।

समाज सेवाले १० लाख आर्थिक तथा जिन्सी सामाग्री संकलन गर्न सफल भएको थियो । संकलन रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्रीसहित गाउँ पठाएको अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार अक्सिजन लगाएतका सामाग्री गाउँ पठाएको छ । अध्यक्ष शेर्पाले भने- ‘कुनै बिदेशिको अगाडी हात पसार्नु परेन, छोटो समयमा यतिका ठूलो सहयोग जम्मा गर्नु चनचुने कुरा होइन । संस्थाले खाम्दिङ र लुम्सास्थित स्वस्थ्य चौकीमा अक्सिजन, स्वास्थ्य सामाग्री र औषधि पठाएको जनाएको छ ।’ माक्स, सेनिटाइजर, थर्मलगन लगायतका समाग्रीहरु पनि उपलब्ध गराएको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिनुभयो ।

औषधि र स्वस्थ्य सामाग्रीहरु वडा न. १० का सविकका ९ वटै वटाका स्थानीयलाई निःशुल्क उपलब्ध गराइने जनाएको छ । लुम्सा, जुके र धिमिलको लुम्सा स्वस्थ्य चौकी र टाप्टिङ, खाम्दिङ, ढिकुरे, चैलुङ, फतान्जे र च्यङ्बा टोलका स्थानीयले खाम्दिङ स्वस्थ्य चौकीबाट स्वास्थ्य सामाग्री प्राप्त गर्ने गरी सामाग्री प्राप्त भएको वडा अध्यक्ष मिङमार छिरी शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार संस्थाले गाउँका लागि ठूलो सहयोग गरेको र यसबाट स्थानीयलाई ठूलो राहत पुगेको बताउनुभयो ।

कोरोना महामारीले वडाभित्र थुप्रै संक्रमित थपिइरहेको विषम परिस्थितिमा सहयोग प्राप्त गर्नु मानविय हितका हिसावले ठूलो योगदान रहेको समेत अध्यक्ष शेर्पाले बताउनुभयो ।