राजनीति

अवैधानिक र अनाधिकृत बैठकमा कोही सहभागी नहुनु :एमाले


काठमाडौँ –सत्तारूढ नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक नबोलाएको स्पष्ट पारेको छ। संस्थापन पक्षले खनाल–नेपाल समूहले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका हुन् ।


एमालेका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङ्गले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गर्दै निन्दा र भर्त्सना गरेको जनाएका छन्। अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको स्मरणसमेत गराएका छन् ।


एमालेबाट निस्काशित भइसकेका माधवकुमार नेपालले बिहीबार एमालेको नामबाट केन्द्रिय कमिटीको बैठक बोलाएका छन्। माधव समूहले बोलाएको बैठकलाई एमालेले अनधिकृत रहेको जानकारी दिएको हो। विभाजनको डिलमा पुगेपछि एमालेको आपसी विवाद मिलाउन दोस्रो तहका नेता अनौपचारिक रुपमा सक्रिय भएका छन्।