राजनीति

न्यायाधीशमा गुटबन्दी देखिनु गम्भीर : शंकर पोखरेल


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चमै गुटबन्दी देखिनु गम्भीर समस्या भएको टिप्पणी गरेका छन् । एउटा न्यायाधीशले अर्को न्यायाधिसको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या भएको उनको टिप्पणी छ।

‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या हो’, उनले सामाजिक सञ्जालमार्फत भनेक छन् । सर्वोच्च अदालतमा संसद् विघटन विरुद्धको मुद्दामा कानुन व्यवसायीले केही न्यायाधीशलाई इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलासमा नै विवाद भएको छ। वकिलहरुले तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्पक्षताप्रति प्रश्न उठाउँदै उनीहरु इजलासमा बस्न नहुने माग गरेपनि उनीहरुले आफू नबाहिरिने राय दिएका छन् ।

विवाद निरुपणका लागि सर्वोच्च अदालतका न्यायाधीशहरुको छलफलमा केही न्यायाधीशले इजलासमा बस्न हुने र नहुने भनेर दुई थरी राय दिएपछि आगामी २३ गते वरिष्ठताको आधारमा नयाँ इजलास गठन गरी सुनुवाइ सुरु हुने भएको छ।