राजनीति

दरबार हत्याकाण्डको त्यो १५ मिनेट, नेपाली इतिहासको भयानक पल


काठमाडौँ – आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पुरा भएको छ । नेपाली इतिहासमा सबैभन्दा बीभत्स र रहस्यमय घटनाका रुपमा रहेको दरबार हत्याकाण्ड नेपालीहरुलाई विझाईरहने घाउ बनेर बसेको छ ।

२०५८ जेठ १९ को शुक्रबार राति । करिब पौने ९ बज्दै गर्दा तत्कालिन युवराज दीपेन्द्र सैनिक कम्ब्याट लगायर दुई राइफल र ह्याण्डगनसहित चार हतियार लिएर विलियार्ड हलमा छिरे र अन्धाधुन्ध फाईरिङ गरे । शुक्रबार जसो हुने रात्रिभोजमा विलियार्ड हलमै उभिएर मस्त गफगाफ गरिरहेका तत्कालिन राजा वीरेन्द्रमाथि दीपेन्द्रले फायर गरे । गोली लागेर लडेका वीरेन्द्रले पेस्तोल झिके, तर बहिनी शोभाले खोसिदिईन । करिब १५ मिनेटको भयानक दृश्यपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीसहित दश जनाको ज्यान गयो ।
मदिरा र लागुपदार्थले लठ्ठिएका दीपेन्द्रले परिवारका सदस्यको हत्या गरिसकेपछि अन्तमा, आफैमाथि गोली प्रहार गरे । हो यहीँ कहानीको रहस्यमै घुमिरहेको छ दरबार हत्याकाण्डको २० बर्ष । आजभन्दा २० बर्षअघि भएको त्रासदीपूर्ण दरबार हत्याकाण्डको मुख्य दोषी को हो ? कसको प्रपञ्चमा राजा वीरेन्द्रको वंश नै नाश गरियो, जनताले पत्याउने चित्तबुझ्दो यर्थात बाहिर आएको छैन ।

राजा वीरेन्द्रको वंश नाशपछि उनका भाई ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने । ०६२÷६३ को जनआन्दोलन पछि संवैधानिक राजसंस्थात्मक बहुदलीय व्यवस्था ढलेर मुलुक गणतन्त्रात्मक बहुदलीय व्यवस्थामा गएको छ । त्यसयता निरन्तर कांग्रेस र कम्युनिष्टले देशको नेतृत्व गरेका छन् । तर अहिले दलहरुबीच देखिएको भाँडभैलो र अन्योलले गर्दा राजा वीरेन्द्रलाई चिन्ने सबैले उनको शासनकाल झलझली सम्झिरहेका छन् ।राजतन्त्र पक्षधरहरु भने वीरेन्द्रको वंश नाशपछि नै जरो हल्लीएर विलय भएको पुरानै राजसंस्थासहितको व्यवस्था लागुगर्न लागि परेका छन् ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको क्रुर हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । दीपेन्द्रले गोली चलाउँदा सुरक्षाकर्मीले किन रोक्ने प्रयास गरेनन् ? के दीपेन्द्रले आत्महत्या नै गरेका हुन त ? हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रकै सनकमा त्यो घटना भएको निष्कर्ष निकालेको थियो । तर आम नेपालीले त्यसलाई विश्वास गर्न सकेनन् । हत्याकाण्डमा ज्ञानेन्द्र शाहदेखि छिमेकी मुलुक भारतसम्म अहिले पनि शंकाकै घेरामा छन् । घटना भएको स्थानलाई २०६१ मा भत्काएर नयाँ निर्माण गरिएको छ । र त्यहाँ हत्या हुँदा बखतका केही चिनारीहरुलाई सुरक्षित राखिएको छ । २०६५ पछि राजदरबार नाराणहिटी दरबार संग्राहलयका रुपमा परिणत भएको छ । त्यसयता शासनसत्ता हत्याएकाहरुले दरबार हत्याकाण्डबारे बोल्न र छानबिन गर्न अघि सर्न चाहेका छैनन् । जसले न तत्कालिन राजालाई न्याय दिलायो, न जनताले न्याय पाए ।