राजनीति

प्रतिनिधि सभा विघटन फिर्ता लिए पार्टी एकता सम्भव छ : नेता नेपाल


काठमाडौँ – अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निस्काशन गरेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीविरुद्धको हस्ताक्षर आफूले फिर्ता नलिने बरु उनले संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने अडान लिएका छन्।

बुधबार नेता नेपालले आफूहरुले ओलीविरुद्ध गरेका हस्ताक्षरहरु फिर्ता हुने कुनै सम्भावना नभएको भन्दै बरु ओलीले लिएको संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुको भएको सुनाएका छन्। नेपालले ओलीले संसद विघटनको निर्णय फिर्ता लिएमा र उक्त निर्णयलाई लिएर सार्वजनिक रुपमा आत्मलोचना गरेको खण्डमा मात्रै पार्टी एकताका प्रयासले सार्थकता सार्थक हुने बताए।

यस्तै नेपालले आफूहरुलाई पार्टी साधारण सदस्यबाट निकाल्ने ओलीको अवैधानिक निर्णय फिर्ता नभएसम्म पार्टी एकताका लागि भन्दै गरिएका वार्ताको कुनै औचित्य नभएको पनि बताए। ओलीले जेठ १० गते नेता नेपाल, कार्यदलका उनी पक्षीय नेता भीम रावल सहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरे यता खासगरी उनी पक्षीय भनिएका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले ओली पक्षीय नेताहरुसँग वार्ता गरिरहेका छन्।