राजनीति

सरकारको ढुंगा, गिटी निकासी गर्ने योजनाको यादवद्वारा विरोध, यस्तो कार्य वातावरणीय हिसाबले घातक


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाको विरोध गर्नुभएको छ । अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताउनुभएको हो ।

बुधबार यादवले जारी गरेको विज्ञप्तिमा, “भविष्यमा मधेशको भूमिको उर्वरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएको हुँदा भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुंगा, गिटी, बालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गरिनुपर्छ।” भन्ने उल्लेख गरिएको छ ।

यादवले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराईरमधेशमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताउनुभएको छ । बजेटको घोषणा राष्ट्रघाती भएको भन्दै उहाँले केही व्यवसायीलाई फाइदा गरे पनि यो आम नागरिकको हित विपरीत भएको बताउनुभएको छ ।

सरकारले बजेट वक्तव्यमार्फत ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने घोषणा गरेको थियो। त्यहाँ निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा होटल, रिसोर्ट खोल्ने घोषणा पनि गरेको थियो।