राजनीति

ओली लचक भएपछि एमाले एक हुने झिनो आश, दोस्रो तहका नेताहरु सक्रिय (भिडियोसहित)


काठमाडौँ – विभाजनको अन्तिम कसरतमा रहेको सत्तारुढ नेकपा एमालेमा एकताका लागि पुनः प्रयास थालिएको छ । दुबै पक्ष आ–आफ्नै रणनीति बनाएर अघि बढेका बेला दोस्रो तहका नेताहरुको सक्रियताले एकताको झिनो आश बाँडेको हो ।

पटकपटकका असफल वार्ता र संवादहरु पछि पनि सत्तारुढ नेकपा एमालेलाई एक राख्ने प्रयास चलिरहेकै छ । पार्टीभित्रको अन्तरसंघर्षले विभाजनको अन्तिम विन्दुमा लट्किएको एमालेलाई फुटबाट राक्न सोमबार दिनभर र रातभर जसो नेताहरु सक्रिय रहे ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग सोमबार साँझ माधवकुमार नेपाल पक्षका नेताहरुले वार्ता गरेपछि पुनः ओली र माधवलाई एक बनाउने कोशिस गरिएको हो । जसकै कारण मंगलबार बसेको एमाले ओली पक्षको स्थायी कमिटी बैठकले थप कसैलाई पनि कारबाही नगर्ने र पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

यसअघि जेठ १० गते माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरेका ओलीले स्पष्टिकरण सोधिएका अन्य १२ जनालाई पनि मंगलबार कारबाही गर्ने आँकलन थियो । आफुलाई ढालेर विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका उनीहरुलाई ओलीले जुनसुकै हालतमा पनि तह लगाउने दाबी गर्दै आएका थिए । तर माधव पक्षको सहयोग बिना बागमति प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादल र लुम्बिनी प्रदेशमा चन्द्रबहादुर खड्का पराजित भएपछि आगामी निर्वाचनमा आफ्नो हालतको आँकलन गरेका ओली लचक बन्ने अवस्थामा झरेका हुन् ।

२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनेको थियो । तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलियो । तत्कालिन नेकपामा अल्पमतमा रहेका उनी नेकपा खारेज भएर एमाले ब्यूँतिएपछि बहुमतको भरमा माधव पक्षलाई कारबाहीको डण्डा बर्साउन थालेका हुन् ।

यसअघि नै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्ष आफ्ना लागि भुत काल बनिसकेको बताएका थिए । माधव पक्षले पनि कुनै पनि हालतमा ओलीसंग सहकार्य गर्न नसकिने निष्कर्ष निकाल्दै आफु निकट विधार्थी नेतालाई नयाँ पार्टी दता गर्न लगाएको छ । तर दुबै पक्षमा सक्रिय दोस्रो तहका नेताहरुले सहमतिको प्रयास गर्दै पार्टी एक हुने झिनो आश बाँडिरहेका छन् ।