राजनीति

अरुलाई नैतिकता सिकाउने ओली आफू नै मर्यादा विर्सिदै, पदको मर्यादा नै भुलेर आलोचकमाथि तुच्छ गाली (भिडियोसहित)


काठमाडौँ – अरुलाई सभ्यता र नैतिकताको पाठ पढाउने प्रधानमन्त्री केपी शर्मा ओली आफैको अभिव्यक्ति भने नैतिकताको कसीमा राख्न नमिल्ने बन्न थालेका छन् । अर्थात अरुको अभिव्यक्तिमा अराजकता देख्ने ओलीमा आफ्नो बोली मात्रै सही देख्ने प्रवृक्ति विकास हुँदै गएको छ । ओलीको यो प्रवृत्तीलाई धेरैले भने प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्तिको रुपमा आलोचना गर्ने गरेका छन् ।

अरुले तपाई नभनेकोमा चित्त दुखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आलोचकमाथि भने निरन्तर तल्लो तहको टिप्पणी गर्दै आएका छन् । बुद्धिजीवी, पूर्व सहकर्मी, पत्रकार र अधिवक्तासम्मलाई हैसियत भुलेर गाली गरेका उनले अरुलाई भने प्रत्येक भाषणमा संस्कार र नैतिकता पढाउन छोड्दैनन् । यसैपनि चर्को अभिव्यक्तिका कारण चर्चा र विवादमा परिरहने उनले प्रधानमन्त्री पदकै गरिमा नरहने गरि विपक्षीको आलोचनामा उत्रिएको उदाहरण धेरै छन् । जसलाई पछिल्ला दुई दिनका अभिव्यक्तीले अझ मलजल गरेका हुन ।

आइतबार ओली आफूले कारवाही गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति खनिएका थिए । माथिबाटै धमिलो पानी बगाउने काममा नेपाल लागेको आरोप लगाएका ओलीले नेपाललाई अराजक भन्न समेत भ्याए । हाउभाउ सहित नेपाल पक्षलाई हियाएका उनले अश्लिल तथा मानवियताको तहसम्म उभिन नसकेको तत्वको संज्ञा दिए ।

ओली यतिमा मात्र रोकिएनन् । उनी सोमबार अधिवक्ताहरुमाथि पनि सोहि रुपमा खनिए । सरकारका गलत कदमप्रति पूर्वप्रधानन्यायधिस र न्यायधिशहरुले दिएको अभिव्यक्तिले रुष्ट देखिएका उनले न्यायलयमाथि हस्तक्षेप गरेको आरोप लगाए । आफ्नो कार्यकालमा केही नगर्ने उनीहरुले सरकारकै पेन्सन खाएर सरकाविरुद्ध सडकमा ताण्डव गरेको ओलीले टिप्पणी गरे ।

तर पूर्वन्याधीशहरु भने प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले बोल्दा आफ्नो मर्यादालाई ध्यानमा राख्नुपर्ने बताउछन् । आम नागरिक सरह प्रधानमन्त्रीलाई पनि अभिव्यक्ती स्वतन्त्रता भएपनि जे पायो त्यहि बोल्दा सहि सन्देश नजाने उनीहरुको तर्क छ ।

हुन त आफूमात्र राम्रो भन्ने घमण्ड धेरै मानिसमा हुन्छ । जसबाट प्रधानमन्त्री ओली पनि अछुतो छैनन् । यति हुँदाहुदै पनि एउटा जिम्मेबार पदमा बसेको व्यक्ति र आम व्यक्तिको अभिव्यक्तीमा केहि फरक हुनै पर्छ । तर आफ्ना आलोचना सुन्नै नसक्ने ओली भने आफ्ना गल्ती सुधार्नभन्दा आलोचना गर्नेलाई तुच्छ गाली गर्नमै व्यस्त देखिन्छन् । देशको कार्यकारी प्रमुखले यो प्रकारको हदसम्म जानु अशोभनिय नै हो ।