राजनीति

ओलीको जादुमा जसपा सरकारमा, जसपा विभाजन उन्मुख (भिडियोसहित)


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले यसबीच भारतीय दूतावास र प्रधानमन्त्रीनिवासमा बाक्लो ओहोर दोहोर गरे । प्रतिनिधिसभा भंग हुनु र ओली सत्ता कायम हुनमा यहि समूहको महत्वपूर्ण भूमिका छ भन्ने गरिन्छ ।

प्रधानमन्त्री ओलीको चाहना बमोजिम निर्णय लिएका कारण सत्ता साझेदारी गर्न यो समूह अहिले अन्तिम तयारीमा जुटेको छ । तोकिएको समयमा निर्वाचन भए जसपाको सत्ता यात्रा छ महिनामा मात्रै हुनेछ । यस्तो अल्पकालीन सत्ताका लागि यो दलले आफ्नो राजनीति किन दाउमा लगायो ?

जनता समाजवादी पार्टी विभाजन उन्मुख छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता दल विभाजन गरेर भए पनि प्रधानमन्त्री ओलीसँग सात–आठ मन्त्रालय र एकाध राज्यमन्त्री लिएर सत्ता साझेदारी गर्ने तयारीमा छ । बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा जसपाका नेताहरुले सोमबार दिउँसो लामै छलफल गरे । प्रधानमन्त्री केपी शर्मा ओलीविपक्षमा बनेको गठबन्धनलाई साथ दिएको भए दुई वर्ष सत्तामा रहने सम्भावना लत्याएर बजेट समेत ल्याइसकेको सरकारमा जसपा किन आउँदैछ ? भन्ने प्रश्न अहम बनेको छ ।

विश्लेषकहरुले जसपाको यो भूमिकाप्रति केही कारणहरु औंल्याएका छन् । भारतले ओली सरकारलाई काखी च्यापेका कारण जसपाको यो समूह पनि ओलीसँग लागेको हो । नत्र ओलीलाई यहि समूहले विगतमा सबैभन्दा बढी घृणा गथ्र्यो । संसदको बहुमत हिस्सा ओलीविपक्षमा हुँदा कमजोर ओलीबाट आफ्नो स्वार्थ पूरा गराउन पनि अहिले सहज ठानेर जसपाको यो समूह ओलीतिर नजिक हुन पुग्यो ।

केही विश्लेषकहरु चाहिँ भारतीयलाई नागरिकता दिलाउने चाहना, वीरगञ्ज पश्चिममा राजनीति बलिायो बनाउने चाहना र आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने मधेसको दोस्रो ठूलो राजनीतिक दलको रुपमा उदाउने महत्वांकाक्षाका कारण जसापका नेताहरुले यसपटक अप्राकृतिक जस्तो देखिने समिकरणमा लागे ।

नेपालको राजनीति अस्थीर राख्न जसपाको यो शक्ति उपयोग हुँदै आएको विश्लेषण पनि भइरहेको छ । अस्थीरता कायम राखेर राजनीतिक स्वार्थहरु पूरा गराउनका लागि जसपाले यसपटक पनि विभिन्न अडान लियो ।

गएको निर्वाचनमा महन्थ ठाकुरका लागि नेपाली कांग्रेले महोत्तरी ३ मा आफ्नो उम्मेदवार नै खडा गरेको थिएन । त्यही कांग्रेसलाई महन्थले साथ नदिनु, प्रधानमन्त्री ओलीलाई मधेसविरोधी भनेर जनताबीच प्रचारबाजी पनि यहि समूहले गरेको थियो, तिनै ओलीलाई साथ दिनुले ‘जसपाको राजनीति स्वभाविक छैन’ भन्नेहरु पनि छन् ।