कोरोना विशेष

दुर्गममा कोरोना विरामीलाई हेलिकोप्टरमा, खोटाङमा सहयोग गर्न केन्द्र र प्रदेशलाई आग्रह (भिडियोसहित)


काठमाडौँ – कोरोना महामारीले तराई र शहरी क्षेत्रलाई ग्रस्त बनाएपछि उच्च पहाडी क्षेत्रमा पनि सताएको छ । दिनदिनै बढ्दै गएको संक्रमणदर र उपचारका लागि आवश्यक पूर्वाधार नहुँदा समस्या उत्पन्न भएको छ । पूर्वि पहाडी जिल्ला खोटाङले कोरोनाबाट शिथिल बनेका विरामीको उपचार उद्धारका लागि हेलिकोप्टरसम्मको विकल्प खोज्नु पर्ने अवस्था आएको छ ।

पहाडी एवं दुर्गम ठाउँहरुमा कोरोना संक्रमणबाट थलिएकाहरुको उपचारका लागि समस्या बढ्दै गएको छ । जिल्लामै सुविधायुक्त अस्पताल नभएको र काठमाडौँ लगायत सुविधायुक्त ठाउँ–ठाउँमा लैजान पनि लामो दुरीको यातायातका कारण खोटाङमा समस्या उत्पन्न भएको हो । गम्भीर प्रकृतीका विरामीलाई तत्काल उपचार गराउन स्थानीय जनपैतिनिधि र प्रशासनलाई चूनौती थपिएको हो ।
र पनि खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अति सिकिस्त कोरोना संक्रमित विरामीलाई उपचारका लागि नगरपालिकाकै खर्चमा हेलीकोप्टर मार्फत काठमाडौँसम्म पठाएको छ ।

जेठ १० र १५ गते दुई विरामीलाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई पनि ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर काठमाण्डौं पुयाइएको थियो । ती विरामीहरुको अहिले काठमाडौँका अस्पतालहरुमा उपचार भइरहेको छ ।

दिक्तेल देखि काठमाडौँसम्मको पालोपत्रे सडक पार गर्न झण्डै ८ घण्टा समय लाग्दछ । शिथिल विरामीलाई अस्पतालसम्म पुर्याउदा समय लाग्ने भएकाले हेलीकोप्टर मार्फत उद्धार गर्न सके नागरिकको जीवन रक्षा हुने स्थानीय जनप्रतिनिधिहरुको निष्कर्ष छ ।

तर एउटा हेलीकोप्टर चार्टर गर्न दुई देखि तीन लाख रुपैयाँसम्म लाग्ने र यति मोटो रकम स्थानीय तहले जोहो गर्न नसक्ने भएकाले प्रदेश वा केन्द्र सरकारले आर्थिक समन्वय गरिदिनु पर्ने नगरप्रमुख रिजालको भनाई छ ।

यसका लागि आइतबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै दिक्तेल नगरप्रमुख रिजालले गम्भीर अवस्थाका बिरामीलाई निःशुल्क हेलीकोप्टरको व्यवस्था गरिदिन अनुरोध गरेका हुन् । भूगोलको प्रतिकुलता बुझेर उच्च पहाडी क्षेत्रका कोरोना संक्रमितको उपचारमा ध्यान पुयाईदिन जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । कोरोनाबाट खोटाङमा अहिलेसम्म जनाको मृत्यु भइसकेको छ ।।