समाचार

होटलबाट रक्सी चोर्ने तीन प्रहरी निलम्बित


काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सिरहाले तीन जना प्रहरीलाई निलम्बित गरेको छ । निषेधाज्ञामा खटिएका बेला होटलमा छिरेर जाँडरक्सी चोर्ने असई र जवान गरी ३ जना प्रहरीलाई लाई निलम्बित गरेको हो ।

सिरहा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी सहायक निरीक्षक (असई) नबलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार रायलाई प्रहरी नियमावली–२०७१ बमोजिम निलम्बन गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले गढियाचोक आसपासका पसलहरू बन्द गराई निषेधाज्ञा कार्यान्वयनको क्रममा पूजा मदिरा होटलमा प्रवेश गरी प्रहरीले मदिरा चोरेको आरोप छ । होटलबाट प्रहरीले केही भोड्का रक्सी लिएर गएको भिडियो विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा अपलोड भई आलोचना भइरहेको अवस्थामा तीनै जनालाई निलम्बन गरिएको हो ।