देश

उपचारपछि घर फर्कदै गर्दा एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु


काठमाडौँ – नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाईको उपचारको क्रममा मृत्यु भएको हो । चिकित्सकले उनको ३ः४० मा मृत घोषणा गरेको थियो ।
दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन् । सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएका छन् । उनीहरुको टाउको, हात तथा छातीमा चोट लागेको र अहिले जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताएका छन् ।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेको थियो । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए । दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।