विदेश

फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि सरकारी पैसामा खाजा खाएको भन्दै प्रहरीले अनुसन्धान गर्ने


काठमाडौँ – फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनमाथि त्यहाँको प्रहरीले अनुसन्धान गर्ने भएका छन् । ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो ।

३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएको समाचारमा उल्लेख छ । प्रहरीले विज्ञप्तीमार्फत भनेको छ,‘ प्रधानमन्त्रीले केहीपटक सरकारी पैसा खाजामा खर्च गरेको देखिएको छ। यद्यपी कानुनले त्यो स्वीकृति दिँदैन।’

प्रधानमन्त्री मरिनले भने आफूले सरकारी खर्चमा खाजा नखाएको र सरकारी पैसाले आफ्नो लागि केही खरिद नगरेको प्रतिक्रिया जनाएकी छिन् ।

उनले ट्विटरमा भनेकी छिन्,‘ प्रधानमन्त्रीको रूपमा मैले खाना भत्ता अनुरोध गरेको छैन अथवा त्यस्तो निर्णयमा भाग लिएको छैन । जब म पदमा छु मलाई केसारान्तमा बस्न भनिएको छ, पहिलेका प्रधानमन्त्रीले पनि त्यसै गर्दै आएका थिए ।’