कोरोना विशेष

चीन सरकारले सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण


काठमाडौँ – चीन सरकारले सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको छ । कोरोना महामारीसँग लड्नका लागि चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

यस्तै चीन सरकारले अतिरिक्त अनुदान अन्तर्गत उपलब्ध गराएको ३५ सय अक्सिजन सिलिण्डरमध्ये १५ सय थान सोमबार केरुङ नाकामा नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।

यसैगरी चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख डोज कोरोनाविरुद्धको खोपमध्ये ८ लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान सोमबार राति बेइजिङ जाने पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी गराएको छ ।