राजनीति

प्रधानन्यायाधीशलाई विदामा बस्न अधिवक्ता थापाको सुझाव


काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई संसद् विघटनसम्बन्धी मुद्दा प्रभावित हुन्छजस्तो लागे ‘लिभ’ बिदामा बस्न सकिने सुझाव दिएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज पनि न्यायाधीशबारे नै बहस भएको छ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीशबारे प्रश्न उठाएका हुन्। न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर छ ।

अघिल्लो इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसीको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीशले आफू पनि यसअघिको बहसमा रहेको भन्दै आफ्नो विषयमा के हुने ? भनी प्रश्न गरेका थिए । प्रतिप्रश्नमा वरिष्ठ अधिवक्ता थापाले मुद्दा प्रभावित हुन्छ जस्तो लागे ‘बिदा’मा बस्न सकिने सुझाव दिए ।

साथै अधिवक्ता थापाले सर्वोच्चको फैसलाले नेकपा पार्टीलाई अलग गराएको पनि बताउनु भयो । उनले भने, “पार्टी फुटाउनुभयो, अब तिमीहरु अलग अलग बस भन्दिनुभयो, प्रधानमन्त्री ७६(२) मा पुर्‍याइदिनुभयो । त्यही प्रक्रियाका कारण बहुमत अल्पमतको खेल सुरु भयो र आजको अवस्था आयो ।”