राजनीति

विपक्षी दलकको बैठक सकियो, यस्ता विषयमा भए निर्णय


काठमाडौँ – आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

बैठकमा सरकारले ल्याएको बजेटबारे पनि समीक्षा भएको थियो। सरकारले अध्यादेशबाट बजेट ल्याएकोमा उनीहरूले आपत्ति जनाएका छन्।
विपक्षी दलहरूले सरकारका कदमबारे विज्ञप्ति निकालेर विरोध गर्ने निर्णय पनि गरेका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च गएका विपक्षी ५ दलले कोरोनाका बेला कसरी राजनीतिक प्रतिवाद गर्ने भन्नेबारे पनि छलफल गरेका थिए।
सरकारले गरेका एकपछि अर्का असंवैधानिक कदमको विरोध गर्नेबारे आज छलफल गरिएको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
दलहरूले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक कदमबारे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्।

बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, भीम रावल तथा जसपाबाट डा।बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी भएका थिए।