राजनीति

हुम्लालाई राजमार्ग सञ्जालसँग जोडिने


काठमाडौँ – आगामी आर्थिक वर्षबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । हिजो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा राजमार्ग सञ्जालमा जोडिने जानकारी दिएका हुन् ।


नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोट यस्तो सदरमुकाम हो, जुन आजको मितिसम्मको राजमार्गको सञ्जालसँग जोडिएको छैन । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन ।
सिमकोटलाई राजमार्ग जोड्नका साथै पदयात्रा मार्ग निर्माण पनि गरिने बताएको छ । सरकारले डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ ।

यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ । हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ । मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जनाइएको छ ।