राजनीति

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज पनि सुनुवाई


काठमाडौँ – प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आइतबार(आज) पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको हो ।

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजन हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए । “नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो, “त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।”
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए । इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० ओटा रिट दर्ता भएका छन् ।
आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । यस्तै विपक्षी गठबन्धनले संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेपछि सर्वोच्चमा सुनुवाई सुरु भएको हो ।