राजनीति

जसपाले सोध्यो अध्यक्षसहित चार नेतालई २४ घण्टे स्पष्टीकरण


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय डा.बाबराम भट्टराई र उपेन्द्र यादवसमूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । २४ घण्टाको समयसीमा दिँदै अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

यसअघि बहुमत कार्यकारिणी समिति सदस्य उपस्थित बैठकले जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित शुक्ल र कर्णलाई यादव समूहले जेठ ११ गते पनि ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएपछि फेरी पनि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको भट्टराई–यादव समूहले जनाएको छ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई–यादव समूहमा ३० जना छन् । नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्‍ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरिरहेको छ भने भट्टराई–यादव समूह विपक्षी गठबन्धनको समूहमा लागिरहेको छ ।