राजनीति

एमालेले सुदूरपश्चिमका ६ मन्त्रीलाई सोध्यो स्पष्टीकरण


काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका नवनियुक्त ६ मन्त्रीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्‌मा थपिएका मन्त्रीहरुलाई एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो।

एमालेको ओली पक्षीय सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले शुक्रबार सपथ लिएका ३ मन्त्री र ३ राज्यमन्त्री लाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का,आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी तथा राज्यमन्त्रीहरु अर्चना गहतराज, मना साउद र चुनकुमारी चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

यस अघि तीन मन्त्री प्रकाश शाह , कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधी साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो। शाह मन्त्रीमण्डलमा छन् भने नयाँ सुवेदी र भट्टले शुक्रबार राजीनामा दिएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् हेरफेर तथा पुनर्गठन गरेका थिए।
शुक्रबार नै माधव पक्षका सांसदलाई कारबाही गरिएको थियो। नव नियुक्त मन्त्री पनि माधव पक्षीय नै हुन्।