कोरोना विशेष

काठमाडौँ उपत्यकामा शुक्रबारबाट निषेधाज्ञामा कडाई,अटेर गरे हुन सक्छ यस्ता कारबाही(भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा आजबाट थप कडाई गरिएको छ । यसपटक किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ भने बिहान–बेलुकाको हिडडुलमा समेत रोक लगाइएको छ । साथै अत्यावसशकिय सेवाका सवारी साधनमा समेत चेकजाँच कडा पारिएको छ ।

कोरोना भाईरस संक्रमण जोखिम कम गर्न काठमाडौ उपत्यकामा जारी निषेधाज्ञामा आजबाट थप कडाई गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको अहिले थप कडाइ गरिएको छ ।

यसपटक किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको हिडडुलमा समेत रोक लगाईएको छ । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । तर अत्यावश्यक खाद्य सामग्रीका पसलहरु भने बिहान ९ बजेसम्म खोल्न दिईएको छ । त्यस्तै अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ ।

यसअघि सञ्चालनमा सहज रहेको सञ्चारमाध्यमका सवारीसाधनलाई समेत आजबाट भने कडाई गरिएको छ भने सडकमा उल्लेख्य मात्रामा ट्राफिक प्रहरीको उपस्थिती देखिएको छ । सवारीसाधनहरुको कडा रुपमा चेकजाँच भईरहेको छ भने सडकपनि ठप्पप्राय देखिएको छ । निषेधाज्ञा कडा बनाउन प्रहरीले ठाउँठाउँमा चेकपोइन्ट खडा गरेको छ भने अनुगमनका लागि गस्ती बढाएको छ । फलत यसअघि सहज रुपमा आवतजावत गरिहरहेका धेरै सवारी साधन आज होल्डमा परेका छन ।

सडकमा आजबाट मानिसहरुको उपस्थिती विगतका दिनहरुमा भन्दा कम देखिएको छ भने सवारी साधनहरु पनि कम चलेका छन । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई होल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ । त्यस्तै यसअघि जारी भएका सबैप्रकारका पासहरु आजबाट खारेज गरिएका छन ।

आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ अनुसार कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ । यो अवधीमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ ।