विदेश

नाइजेरियामा डुंगा दुर्घटना हुँदा ५० भन्दा धेरैको मृत्यु


काठमाडौँ – नाइजेरियाको समुद्रमा डुंगा दुर्घटना हुँदा ५० जना भन्दा धेरै यात्रुको मृत्यु भएको छ । अरु दर्जनौँ मानिस हराइरहेका छन् ।

नाइजेरयाको उत्तरपश्चिम राज्य केब्बीस्थित समुद्रमा क्षमता भन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उक्त डुंगामा कम्तिमा १५० यात्रु सवार थिए ।

उनीहरुमध्ये धेरैजसो केब्बी राज्यबाट व्यापारका लागि यात्रा गरिरहेको बुझिएको छ । केब्बीस्थित स्थानीय प्रशासन न्गास्कीका प्रमुख अब्दुल्लाही बुहारीका अनुसार यस दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ । साथै मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी नजिकका अस्पताल लगिएको बुहारीले बताएका छन् । र उनीहरुमध्ये केही निको भइ घर फर्किसके ।

केब्बीको विपद् व्यवस्थापन एजेन्सीका निर्देशक अब्बास रबियु काम्बाका अनुसार उनीहरुले घटनास्थलबाट २० जना पुरुष र २२ महिला गरी ४७ जनाको शव निकालेका थिए । तर त्यहाँ अरु केही बालबालिका समेत वेपत्ता भएका छन् । तर त्यसको यकिन विवरण आइसकेको छैन । नाइजर प्रहरीले भने उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिएको छ ।