राजनीति

एमालेका १२ नेताले पनि स्पष्टीकरण नबुझाउने


काठमाडौँ – नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार अस्ति बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।

नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले यी नेताहरुले स्पष्टीकरण नदिने निर्णय भएको एमालेको खनाल-नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए।

गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई अस्ति बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो । पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै यसअघि एमालेले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।