कर्णाली

संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण,आफन्तले नर्सको घाँटी थिच्‍दै लात्ती प्रहार गरे


काठमाडौँ – बाँके नेपालगञ्‍जस्थित बिहीबार भेरी अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेका छन् ।
अस्पतालका अनुसार गएराति करिब आठ बजे रातिको समयमा उपचाररत दाङका ५४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । गम्भीर अवस्थामा रहेका उनको स्वास्थ्यमा सुधार आउन नसकिरहेको अवस्थामा पनि चिकित्सकहरुले ज्यान बचाउने प्रयास गरिरहेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.प्रकाशबहादुर थापाका अनुसार बिहीबार मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उनका अनुसार ४ जना स्वास्थ्यकर्मीले भने झ्यालबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थियो ।

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा। थापाको भनाइ छ । थापाले भने, ‘‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ,’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।”

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।