मौसम

निरन्तरको वर्षाले नदीमा बाढी, पुलसमेत बगायो


काठमाडौँ – भारतमा आएको यास नामक सामुन्द्रिक आँधी चक्रवातको प्रभाव नेपालमा पनि देखिएको छ । जसको असर मौसमामा बदली आएको छ । नेपालमा लगातारजसो तीन दिनदेखि पानी परिरहेका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद्का अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।

अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ । यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पनि ठूलो वर्षा भएको छ ।

यस्तै सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माण भइरहेको मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका(१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । गण्डकी, वाग्मती र लुम्बिनी तथा प्रदेश–१ र २ का केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा खोलाको आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असरका कारण अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको हो । भोलि बेलुकादेखि भने पानी पर्न केही कम हुने अनुमान गरिएको छ ।