देश

उपत्यकामा आजबाट निषेधाज्ञा थप कडा, अति आवश्यक भए यी नम्बरमा फोन गर्नु पर्ने


काठमाडौँ – झण्डै एक महिनादेखि काठमाडौँ उत्यकामा लागू भएको निषेधाज्ञामा आजदेखि थप कडा गर्दै छ । उपत्यकाका प्रशासनले आजदेखि खाद्यान्न पसलसमेत बन्द गर्ने गरी निषेधाज्ञा गर्ने बताएको छ । एक सातासम्मका लागि खाद्यान्न र किराना पसल खोल्नमा रोक लगाइएको हो । तर तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने खुल्ने छन् ।
त्यस्ता पसल खोल्ने समय एक घण्टा घटाएर बिहान ९ बजेसम्म तोकिएको छ । सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो । गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको एक हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।
यसैबीच खाद्य वस्तु अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जनाएका छन् । त्यस्तो खाद्य बस्तु व्यवस्थापनका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीमबहादुर थापा ९८५११३६७८५ र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९८५११२१७८८ लाई फोन गर्न व्यवस्था मिलाइएको छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९८५१११३६६०, र प्रज्वल प्रधान ९८४१३३२९९० लाई फोन गर्न सकिने उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।