राजनीति

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच अन्तक्रिया, थप खोप उपलब्ध गराउन नेताहरुको आग्रह(भिडियोसहित)


काठमाडौँ – कोरोना महामारीविरुद्ध संयुक्त लडाइँ थाल्नुपर्ने भन्दै चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका विभिन्न राजनीतिक दलका नेताहरुबीच आज भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा नेपालका राजनीतिक दलहरुले कोरोना महामारिसँग लड्न चीनबाट भएको सहयोगको प्रशंसा गर्दै खोपमा थप सहयोगको अपेक्षा राखेको बताएका थिए । साथै नेताहरुले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको प्रतिवद्धता पनि जनाएका थिए ।

‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको बैठकको नेतृत्व विभागका प्रमुख सोङ ताओले गरेका थिए । नेपालको तर्फबाट बैठकमा नेकपा एमालेबाट महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेसबाट नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कृष्णबहादुर महराले सहभागिता जनाएका थिए ।

त्यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र नेपाल मजदुर किशान पार्टीका अध्यक्ष नाराणमान विजुक्छेले पनि बैठकमा सहभागिता जनाएका थिए । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कोरोना महामारिविरुद्धको लडाइमा चीनले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गरे । उनले महामारीमा मात्र नभइ सवै खालका समस्यामा नेपाल र चीन मिलेर लड्नुपर्ने बताए । नेपाल एक चीन नीतिमा प्रष्ट रहेको प्रचण्डको जोड थियो । छलफलमा एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई देशको पहलमा कोरोनाविरुद्धको लडाई नेपालले कनि छिट्टै जित्ने विश्वास व्यक्त गरे ।

नेपाल चीनको सम्बन्ध गाढा रहेको र प्रगाढ नै रहने उनले बताए । त्यसैगरी नेपाली कांग्रेसका नेता नारायण खड्काले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन दिन नहुने कांग्रेसको प्रष्ट धारण रहेको बताए । साथै उनले चीनबाट थप कोरोना खोप सहयोगको अपेक्षा गरिएको बताए ।

बैठकलाई संबोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले दुई देशबीच राजनैतीक, सामाजिक र आर्थिक सम्बन्ध गाढा रहेको भन्दै महामारिविरुद्धको लडाइमा पनि सहकार्य गर्नुपर्नेमा जोड दिए । कोरोनाविरुद्धको लडाइमा चीनको अनुभवलाई नेपालले अनुसरण गर्नुपर्ने उनको धारण थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका राजनीतिक दलहरूसँग यसरी बैठक गरेकोे यो पहिलोपटक हो । यसअघि पनि विदेश विभागले भर्चुअल र नेपालमै आएर कार्यक्रम गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीसँग मात्र गर्दै आएको थियो । नेकपा फुटेपछि सीसीपीले यसपटक नेपालको संसद्मा प्रतिनिधित्व गर्ने संपूर्ण राजनीतिक दलहरुसँग छलफल गरेको हो ।