कोरोना विशेष

निषेधाज्ञामा कोही पनि भोकले मर्नुपर्ने हुँदैन, समस्यामा पर्नेले १०३ मा फोन गर्नुस् : सिडिओ पराजुली


काठमाडौँ – काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले भोकै मर्नुपर्ने अवस्था नआउने बताउनुभएको छ । जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो ।

बुधबार काठमाडौँको नागढुंगा नाका अनुगमन गर्दै पराजुलीले भन्नुभयो ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालय मार्फ् त्यस्ता व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन, ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौँ।’ समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उहाँले जानकारी गराउनुभयो ।

खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नुभयो भने त्यसको व्यवस्थापन गर्नेछौँ’ उहाँले भन्नुभयो । पराजुलीले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको टिप्पणी गर्नुभयो ।