राजनीति

योगेश भट्टराई र गोकर्ण विष्ट फेरि नेपाल समूहका नेताहरू सँगै


काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराई र गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूसँग मिलेर वक्तव्य निकालेका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा भट्टराई र विष्टको समेत नाम समावेश छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दा नेपाल पक्षका अन्य सांसदले हस्ताक्षर गरेको भएता पनि भट्टराईले गरेका थिएनन् ।

केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन् । तर विष्टले राष्ट्रपतिलाई बुझाएको १४९ जनाको सूचीमा हस्ताक्षर भने गरेका थिए । बुधबार भट्टराई र विष्ट दुबैले नेपाल समूहका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर वक्तव्य निकालेका हुन् । आज जारी विज्ञप्तिमा पार्टीबाट गरिएको निष्कासनको विरोध जनाइएको छ ।

“हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरु लगायत पार्टीको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरु एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ। यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भर्त्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।