राजनीति

नेपाल पक्षका १५ स्थायी कमिटी सदस्यको अपिल: ओलीविरुद्ध एकताबद्ध संघर्ष र सहकार्य गरौँ


काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ । १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको हो । माधव पक्षका १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

“ केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौ । राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन हार्दिक आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।