कोरोना विशेष

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी चिनफिङबीच पौने घन्टा टेलिफोन वार्ता


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग राष्ट्रपति भण्डारीले पौने घन्टा टेलिफोन वार्ता गर्नुभएको हो । भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो । जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए । दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए ।

चीनले नेपाललाई अहिलेसम्म कोरोनाभाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिएको छ। अहिले उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ। नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ । राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गर्नुभएको हो । मंगलबार मात्र खोपकै सन्दर्भमा भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाउनुभएको हो ।