कोरोना विशेष

कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थपियो


काठमाडौँ – कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप कडाइ गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।

स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य पसल व्यवसायहरु बन्द रहने भएका छन् । त्यस्तै खाद्य सामग्री, तरकारी, फलफूल पसल व्यवसायहरु हरेक मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । यस अवधिमा अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

खाद्य सामग्री, ग्रोसरी, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्‍चालन गर्दा नेपाल सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालन गरेर मात्र सञ्‍चालन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

अत्यावश्यक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव देखाई मूल्यबृद्धि गर्ने, कालोबजारी वा जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध सिर्जना गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कडा कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

यस्तै, अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा एकजना कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्‍चालनमा जेठ १४ गतेदेखि जेठ २० गते राति १२ बजेसम्म रोक लगाउने निर्णय पनि जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको छ ।

अत्यावश्यक सेवा एम्बुलेन्स, दमकल, दूध तथा दुग्धजन्य पदार्थ, खानेपानी, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार, इन्टरनेट, आइसोलेशन र क्वारेन्टाइनका सवारी साधनहरु स्पष्ट खुल्ने ब्यानर वा कागजातका आधारमा सञ्‍चालन गर्न सकिने जनाइएको छ । कैलालीमा वैशाख १६ गते जारी भएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ ।