देश

काठमाडौँमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि


काठमाडौँ – काठमाडौँमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको छ ।

अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षणबाट बर्डफ्लु पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी गराउनुभयो ।

अहिले सङ्क्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको विभागका प्रवक्ता ढकालले बताउनुभयो । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्ड फ्लु पुष्टि भएको हो ।

पक्षी नष्ट र निःसङ्क्रमण विधि सकिएपछि बेलुकासम्ममा विवरण सार्वजनिक गर्ने तयारी भइरहेको पनि विभागले जनाएको छ ।