राजनीति

यादव पक्षका पाँच सांसद ठाकुरतिर


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षका केही सांसद अर्का अध्यक्ष महन्त ठाकुरको पक्षमा पुगेका छन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि यादव पक्षका पाँच सांसद तथा नेता त्यता पुगेका हुन् ।

यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेका छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ। गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए। त्यस बखतमा यादवका कुन कुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन। तर अहिले भने सबै खुलेरै आएका छन्।

यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर पुगेको छ। संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ। जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ।

गत सोमबार मात्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गरेसँगै त्यो संख्या पनि घट्ने भएको छ ।