राजनीति

जसपाको उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गर्ने तयारी


काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर लगायत चार नेतालाई कारबाही गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पक्षमा लागेको र प्रतिगमनलाई साथ दिएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही सुरु गरिएको जसपाले जानकारी दिएको छ । कारबाहीको पहिलो चरणमा चारै जना नेतालाई स्पष्टीकरण सोधिएको छ।

इमेल, भाइबर, ह्वाट्सएप लगायतका माध्यमबाट र प्रिन्ट गरेर घरमै आज चारैजना नेतालाई स्पष्टीकरण पठाइएको जसपाका कार्यकारिणी समिति सदस्य गंगानारायण श्रेष्ठले बताउनुभयो । तर, ती स्पष्टीकरण प्राप्त नगरेको लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले दाबी गरेका छन् । उपेन्द्र–बाबुराम पक्षको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टी विधान उल्लंघन गर्ने चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकमा कार्यकारिणीका बहुमत सदस्य उपस्थित थिए । चार नेतालाई स्पष्टीकरणका लागि शुक्रबार सम्मको समय दिइएको छ। शुक्रबारसम्म स्पष्टीकरण नदिए निलम्बन गर्ने र त्यसपछि निष्कासित गर्ने तयारी छ ।