राजनीति

सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त


काठमाडौँ — सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको (सीईओ) मा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।