राजनीति

वरिष्ठ नेता खनाल, नेपालसहित ११ जना सांसद एमालेको साधारण सदस्यबाटै निष्कासित


काठमाडौँ – नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी गराउनुभयो ।

नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई पार्टीविरूद्द गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको हो ।