राजनीति

अहंकारी प्रधानमन्त्रीका कारण पटक–पटक अदालत आउनु दुर्भाग्यपूर्ण : गगन थापा

सर्वोच्च अदालतप्रति भरोसा छ


काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतप्रति आफूहरूको पक्षमा फैसला आउनेमा पूर्ण भरोसा रहेको बताउनुभएको छ । सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले संसद पुन स्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ । त्यस्तै नेता थापाले एउटा अहंकारी प्रधानमन्त्रीका कारण अदालत धाइरहनु दुर्भाग्यपूर्ण भएको समेत बताउनुभयो ।

‘सर्वोच्चले यस अघि आफैले गरेको संसद पुनःस्थापनाको फैसलामा टेकेर देउवालाई प्रधानमन्त्री नियुक्तको आदेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौ’ थापाले भन्नुभयो, ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै संसद विघटन गरेकाले हामी अदालत आएका हौँ । यसरी पटक–पटक अदालत आउनु दुर्भाग्यपूर्ण हो ।’

थापाले आफूहरू संसदमा कायम रहेको संख्याको ५४ प्रतिशत सांसद अदालत आएकाले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने पनि बताउनुभयो । ‘हामी १४६ जना सांसद जिउँदै छौँ ,’ उहाँले भन्नुभयो, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र मिल्दैन पनि । हामी सबैको अदालतप्रति भरोसा छ ।’

विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट दायर गरेको छ । रिटमा १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन् ।