राजनीति

किर्ते गरे भन्ने स्यालहुइयाँ गर्नेलाई देखाउन हस्ताक्षरसहित अदालत जान लागेका हौं : विरोध खतिवडा


काठमाडौँ – पाँच दलको गठबन्धन सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालत जाँदैछन् । आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जान लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदका हस्ताक्षर सहित पाँच दलले गठबन्धन नै बनाएर सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालतमा रिट हाल्न लागेका हुन्।

ुजालसाजी गरे। हस्ताक्षर किर्ते गरे भनेर स्यालहुइयाँ गर्नेहरू छन् नि उनीहरूलाई पनि मनोवैज्ञानिक सन्देश दिन हामी सशरिर अदालत जान लागेका हौं,’ एमाले सांसद विरोध खतिवडाले भने,‘अदालतमा हाम्रो सनाखत गर्ने भए गर, टाउको गन्ने भए गन भनेर जान लागेका हौं।’

अहिलेसम्म रिट कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन्।

बाँकी सांसदलाई पनि लिएर सर्वोच्च जाने खतिवडाले बताए।
यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए। राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरुलाई आह्वान गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न राष्ट्रपति समक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएकोमा त्यसलाई खारेज गर्दै संसद् विघटन गरेको थियो ।