खेलकुद

ईपीएलको यस वर्षको सिजन सकियो,लिभरपुल र चेल्सी पनि शीर्ष चारमा


काठमाडौँ – इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबल अन्तर्गत यो सिजन सकिएको छ । आईतबार भएको सर्ब खेलसँगै ईपीएलको यो सिजन सकिएको हो । उपाधि विजेता म्यानचेस्टर सिटीले आफ्नो अन्तिम खेलमा एभर्टनमाथि ५–० को शानदार जित दर्ता गर्दै सिजन सकाएको छ ।

लिग सकिनु अघि नै विजेता भईसकेको सिटीले आइतबार राति घरेलु मैदानमा भएको खेलमा सर्जिओ अग्युरोले ७१ र ७६ मिनेटमा गरी दुई गोल गरे । यस्तै ११ औँ मिनेटमा केविन डी ब्रूयना, १४ औँ मिनेटमा गाब्रियल जिसस तथा ५३ औँ मिनेटमा फिल फोडिनले गोल गरे । २७ खेलमा जित, पाँच खेलमा बराबरी र छ खेलमा हारसहित च्याम्पियन बनेको म्यानचेस्टर सिटीको ८६ अंक भयो ।

आइतबार राति नै भएको खेलमा क्रिष्टल प्यालेसमाथि २–० को जित दर्ता गरेको लिभरपुल तेस्रो स्थानमा उक्लिन सफल भइ आउँदो सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाएको छ ।

एस्टन भिलासँग २–१ ले पराजित भए पनि चेल्सी चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छानिएको छ । लिभरपुलको ६९ तथा चेल्सीको ६७ अंक छ । वुल्भ्सलाई २–१ ले पराजित गरेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ अंक छ ।

टोटनह्यामसँग ४–२ ले पराजित भएको लेस्टर सिटी पाँचौँ स्थानमा रहन बाध्य भयो । च्याम्पियन्स लिगबाट चुकेको लेस्टर सिटी युरोपा लिगमा चित्त बुझाउन बाध्य भएको छ । तर जित निकाले पनि टोटनह्याम भने शीर्ष ६ मा अटाउन सकेन ।

पाँचौँ स्थानको लेस्टरको ६६ तथा सातौँ स्थानको टोटनह्यामको ६२ अंक छ । साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको वेष्ट ह्याम ६५ अंकसहित छैटौँ स्थानमा रहेर युरोपा लिगका लागि स्थान बनाउन सफल भयो ।

अरु खेलमा आर्सनलले ब्राइटनलाई २–०, लीड्सले वेष्ट ब्रोमलाई ३–१, न्यूक्यासलले फुलह्यामलाई २–० तथा शेफिल्ड युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेका छन् ।