कोरोना विशेष

अझै बद्लिएन राजनीतिक व्यवहार, राजनीतिक दलहरुको आन्दोलनले अवस्था नियन्त्रण बाहिर जान सक्छ(भिडियोसहित)


काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहरलाई नेपालका राजनीतिक दलहरुले वेवास्था गर्दा अहिले जनताले भयवह अवस्थाको समाना गरिरहनु परेको छ । यसबाट राजनीतिक दलहरुले पाठ सिक्नुको सट्टा महामारीकै बीच फेरि आन्दोलनका कार्यक्रमहरु घोाषणा हुन थालेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबाट पनि महामारीको आँकलन नगरि निर्वाचनको घोषणा भएको भन्दै लापरवाही कायमै रहेमा नेपालको आगामी दिन भारतको भन्दा ज्यादै भयावह हुन चेतावनी विज्ञहरुले दिएका छन् ।

नेपालमा अहिले भैरहेको राजनीतिक क्रियाकलापले देशलाई अन्योलतातर्फ लगिरहेको छ । देशका ठूला दलहरूले आफ्नो काम–कर्तब्य भुलेर सत्ताको खेलमा लाग्दा जनता महामारिको चपेटामा पर्ने अवस्था छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेपछि विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । केही विद्यार्थी नेताहरुले शनिबारबाटै निषेधाज्ञाको उल्लघन गर्दै आन्दोलन थालेका छन् ।

यस्तो संकटको बेलामा देशका कार्यकारी प्रमुख रहेकाले नै जनताको वेवस्ता गरेपछि जनताको रक्षा कसले गर्ने ? आम नागरिकका मनमा अहिले यो प्रश्नले डेरा जमाएको छ । अस्पतालमा विरामीहरुको चाप बढ्दो छ । अक्सिजन, बेडको अभावमा कतिपयले अकालमा ज्यान गुमाइरहेका छन् । विज्ञहरूले पनि अहिले देखिएको भाइरस पहिलेको भन्दा बढी संक्रामक देखिएको बताइरहेका छन् । अब पनि सरकारले बेवस्ता गरे झनै संक्रमणले उग्ररुप लिने विज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमण दर बढिरहे पनि नियन्त्रणको लागि सरकारले त्रास फैलाउने बाहेकका काम गर्न सकेको छैन । त्यसैले विज्ञ पनि सरकारको कार्यशैलीप्रति पनि सन्तुष्ट छैनन् । यो समय त सत्ताको खेलमा होईन जनतालाई महामारीबाट कसरी बचाउन सकिन्छ भन्नेमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने हो । तर विषम परिस्थितिमा सडकमा राजनितिक दलहरुको लापरबार्हीले गर्दा कोरोना नियन्त्रण गर्न अब झनै गाह्रो हुने विज्ञको दाबी छ ।

दोस्रो लहरले भयावह रुप लिइरहेको बेला नेपालमा भडिकएको राजनीतिक अस्थिरताले नेपालका दलहरुको सम्वेदनशिलताको मुकुन्डो एकपटक फेरि उदांगो पारेको छ । अहिले जनताले निर्वाचन होइन, कोरोनासँग लड्न स्वास्थ्य सामग्री र खोप चाहेका छन् । महामारीबाट अकालमै ज्यान गुमाउन बाध्य जनताको शवमाथि टेकेर गरिने निर्वाचनले देशको त भलो हुँदैन नै स्वयं राजनीतिक दल र तिनका नेताहरुलाई पनि शन्ति मिल्ने छैन । बेलैमा चेतना भया ।