राजनीति

ओली विरुद्ध विपक्षीको आक्रमक मोर्चाबन्दी, संसद विघटनविरुद्ध अदालत जाने (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक संसद विघटन गरेपछि चौतर्फी रुपमा यसको आलोचना भएको छ । विद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् भने विपक्षीहरु पनि आक्रमक रुपमा अघि बढेका छन । विपक्षी गठबन्धनले पनि संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेपछि यसको चौतर्फी विरोध सुरु भएको छ ।

प्रधानमन्त्री पदमै बहाल रहेका बेला नै संविधानको धारा ७६ को उपधारा ५ को प्रकृया आरम्भ गर्न राष्ट्रपति समक्ष अनुरोध पेश गर्नु र राष्ट्रपतिले सोही धारा अनुसार प्रधानमन्त्री नियुक्ति प्रायोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आव्हान गर्नु आफैंमा असंवैधानिक कदम भएको भन्दै राष्ट्रपतिको भूमिकाको आलोचना भएको थियो ।

यहि बीचमा राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गर्दा पनि प्रधानमन्त्री ओलीलाई संसद विगठन गर्न राष्ट्रपतिले बाटो नखोलेपछि विपक्षी आक्रमक बनेका हुन । फलत सरकारले संसद विघटन गरेपछि त्यसका विरुद्धमा विपक्षी दलहरुको गठबन्धन बनाएर अदालत जाने निर्णय गरेको छ ।

तर ओली पक्ष भने पुस ५ मा सरकारले चालेको कदम सहि भएको अहिले आएर पुनः पुष्टि भएको दाबी गरिरहेको छ । लोकतन्त्रमा निर्वाचनमा जाने कुरा सबैभन्दा उत्तम विकल्प भएकोले कति चोटि निर्वाचन भयो भनेर नहेरिने ओली पक्षका नेताहरु बताउछन् । राष्ट्रपतिले दिएको समयमा प्रधानमन्त्रीको दाबी गर्न विपक्षी दल नगएकोले संविधानकै प्रावधान अनुसार संसद विघटन भएको उनीहरुको तर्क छ । राष्ट्रपतीले विश्वसनीय आधार नभए प्रधानमन्त्री नियुक्त गर्न बाध्य नहुने तथा विपक्षीकै किर्ते दाबीका कारण देश मध्यावधीमा गएको उनीहरुको भनाई छ ।

कानुनका जानकारहरु समेत सरकारको पछिल्लो कदम संविधानकै बर्खिलाप भएको बताउछन् भने ६ ओटा युवा संगठनले यो कदमप्रति आपत्ती जनाएका छन् । तर प्रधानमन्त्री ओली भने सर्वोच्च अदालत जाने तयारी गरिरहेका विपक्षीप्रति व्यङ्ग गर्नमै व्यस्त छन् । यतिमात्र हैन आफूमात्र सहि भन्ने घमण्डले थिचिएका ओलीले बालुवाटार र सिंहदरबाटलाई आफ्ना आलोचकलाई गाली बर्साउने थलोका रुपमा विकास गरेका छन् ।

अर्थात बारम्बार संविधानकै धज्जी उडाँउदै आएका ओलीले सरकार विरुद्धको अहिले भईरहेको विरोधलाई लोकतन्त्र र गणतन्त्रमाथिको हमलाको संज्ञा दिने गरेका छन् ।