राजनीति

ओलीको अंहकारले फुट्ने भो एमाले, नेपाल निकटले गरे नयाँ पार्टी दर्ता(भिडियोसहित)


काठमाडौँ – लामो समयदेखि दुई पार्टीको अभ्यास गर्दै आएको एमालेको दुई धार मिलाउन गठन गरिएको कार्यदलले आफ्नो काम देखाउन नपाउँदै एमाले पुनः फुटकै दिशामा अगाडि बढेको छ । कार्यदलले दुई गुटको अन्तरविरोध अन्त्य गर्ने आशा राखिएपनि प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएपछि माधव नेपाल पक्ष ओलीसँग रहन नसक्ने निष्कर्षमा पुगेको छ । एमालेभित्रको ओली–नेपाल खनाल समुहबीचको अन्तरकलह फेरि फुटको नजिक पुुगेको छ ।

यसअघि पनि फुटको डिलमै पुगेको दुई धार मिलाउन कार्यदल गठन गरिएको भएपनि त्यसले नतिजा दिन नपाँउदै विवाद पुन उत्कर्षमा पुगेको हो । यस बीचमा माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यहि कारण देखाँउदै ओली पक्षको स्थायी समितिले माधव नेपालसहित ११ जनालाई स्पष्टिकरण सोधेको छ । त्यस्तै राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवारलाई असहयोग गरी पार्टी निर्देशन विपरीत काम गरेको भन्दै नेपाल पक्षका १४ बागमती प्रदेशसभा सदस्यलाई पनि स्पष्टीकरण सोधिएको छ ।

यी घटनाक्रमसँगै पार्टी पुनः लगभग विभाजनको अवस्थामा पुगेको छ । कार्यदल गठन पश्चात आन्तरिक विवाद हल हुने आशा गरिएपनि दुबै पक्षले आफ्ना गतिविधि जारी राख्दा एमाले एक हुनै नसक्ने अवस्थामा पुगेको हो । नेपाल पक्षले पार्टी अध्यक्षले गलत बाटो हिडेको भन्दै आफ्ना गतिविधि जारी राखेको थियो भने ओलीले पनि मिचेरै अघि बढ्ने आफ्ना बानी छाडेका थिएनन् । माधव पक्ष विपक्षीको मतियार भएको आरोप लगाउँदै आएका ओलीले पार्टी अराजकता र अनुशासनहिनतामा नचल्ने बताएका थिए । अर्थात नेपाल पक्षका गतिविधीलाई अराजक र गुटगत मान्ने ओली एमालेलाई त्यसबाट मुक्त गरिने अडानमै छन् ।

तर नेपाल पक्षले भने पार्टी अध्यक्ष ओली पार्टी विधान अनुसार नचलेको भन्दै त्यसको प्रतिरोधमा अडिग रहँदै आएको छ । संसदमाथि ओलीले एकपछि अर्को प्रहार गरेकोले संसद र लोकतन्त्र जोगाउन आफुहरु लागेको नेपाल पक्षको दाबी छ । कार्यदलको औचित्य ओलीले नै सिध्याएको दाबी गर्ने नेपाल पक्ष ओली प्रवृत्ति सामु घुडा नटेक्ने मनसायमा छ ।

दुवै पक्ष झुक्न नचाहने र अध्यक्षको नाताले ओलीले गर्नुपर्ने पहल नहुँदा एमाले दुई टुक्रा हुने पक्का भएको छ । यहि विवादकाबीच नेपाल पक्षका नेताहरुले अर्को पार्टी खोल्ने निर्णय गरेको अभिव्यक्ति दिन थालेका छन भने निर्वाचन आयोगमा नेपाल निकट युवा नेताले नयाँ पार्टी गठन गरेका छन् । अन्तत : पहिले नै फुटिसकेको माटोको भाडो टाल्ने कार्यदलको प्रयास अपुरो नै रहने निश्चित बनेको छ ।