राजनीति

नयाँ दल दर्ताका लागि नेपाल निकट विद्यार्थी नेताले दिए आयोगमा निवेदन


काठमाडौँ – नेकपा एमालेका असन्तुष्ट पक्ष झलनाथ खनाल –माधव नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो। आयोगमा नयाँ दल दर्ताका लागि राईले निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए। उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाल रहेका छन्।

यसअघि कलम चिन्हबाट गत जेठ ६ गते बागमती प्रदेश अन्यतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा संघीयताविज्ञ खिमलाल देवकोटा निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।