राजनीति

सरकारको विरोधमा उत्रिएका नेविसंघका नेता पक्राउ


काठमाडौँ – सरकारको सिफारिसमा संसद् विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी (नेवि)संघका नेतालाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ। नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतलाई आज प्रहरीले पक्राउ गरेको हो।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले युवा तथा विद्यार्थीलाई प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिन निर्देशन दिएपछि देशका विभिन्न भागमा राँके जुलुस, पुतला दहनलगायत प्रदर्शन भइरहेका छन्। निषेधाज्ञा र कोरोना महामारीबीच पनि बाध्य भएर आफूहरू प्रदर्शनमा उत्रिनुपरेको नेविसंघ महामन्त्री दीपक भट्टराई बताउँछन्। राष्ट्रपति र प्रधानमन्त्री मिलेर गैरसंवैधानिक काम गरेको भन्दै नेविसंघ विरोधमा उत्रिएको उनले भने । त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न भट्टराईले माग गरेका छन्।