राजनीति

कृष्ण थापा पार्टीको कारवाहीमा; जनमोर्चाले गर्याे साधारण सदस्यबाट निलम्बन


काठमाडौँ – पार्टीले दिएको निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको जनाएको छ ।
गण्डकी प्रदेश सरकारको सत्ता समीकरण फेरबदल हुन लागेको अवस्थामा जनमोर्चाले नेपाली कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री रहेका कृष्णचन्द्र नेपाली ‘पोखरेल’ लाई समर्थन गर्न ह्विप जारी गरेको थियो । त्यो अवस्थामा तीनजना सांसद रहेको जनमोर्चाको निर्णय नै निर्णायक थियो । केन्द्रमा ओली सरकारले संविधानविरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमेत ओलीको पक्षमा उभिएको भन्दै जनमोर्चाले गुरुङविरुद्ध उभिने निर्णय गरेको थियो ।
गत वैशाख २९ गते प्रस्तावित मुख्यमन्त्रीको पक्षमा बहुमत हस्ताक्षर गरेर प्रदेश प्रमुखसमक्ष बुझाउने कार्यक्रम रहेको थियो। तर, सांसद थापा भने हस्ताक्षर नगरी गृह जिल्ला बाग्लुङ गएका थिए । उनको हस्ताक्षरका लागि पार्टीका केन्द्रीय महासचिव मनोज भट्ट समेत पोखरा पुगेको थिए । तर, सांसद थापाले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका थिए। जसका कारण विपक्षीको पक्षमा बहुमत नपुग्दा मुख्यमन्त्री गुरुङ नै स्वतः पुनः मुख्यमन्त्री बनेका छन् । सांसद थापाको यही कदमका कारण साधारण सदस्यबाट समेत एक वर्षका लागि निलम्बन गर्ने निर्णय शनिवार भएको महासचिव मनोज भट्टले जानकारी दिए ।