राजनीति

सभामुख सघन परामर्शमा व्यस्त


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिसकेपछि सभामुख अग्नि सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग सघन परामर्श थाल्नु भएको छ ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सभामुखले सम्भवतः आज नै आफ्नो धारणा सार्वजनिक गर्नुहुने छ । ‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ उनले भने ।
यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । माओवादी केन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहदै आएको छ ।