राजनीति

ओलीले विघटनको पूर्वसन्ध्यामा भनेका थिए : महामारीमा पनि चुनाव गर्न सकिन्छ


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली हिजो मध्यरातमा प्रतिनिधि सभा विघटन हुनुको पूर्वसन्ध्यामा नै त्यसबारे संकेत गरिसकेका थिए । ओलीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा चुनाव हुनसक्ने आधारहरु बालुवाटारबाट पेश गरेका थिए।

‘कोभिडको बेला चुनाव वाञ्छनीय होइन। राष्ट्रको समय एकदिन पनि एकछिन पनि यस्ता अनावश्यक काममा खर्च भइरहेको छ,’ ओलीले भनेका थिए, ‘जे काममा लाग्नुपर्ने हो त्यसमा समय कटाएर यहाँ छौं। राजनीति न अडिन सक्ने न अगाडि बढ्न सक्ने अवस्थामा भयो।’

मतदानका बेला दुरी कामय गरेर मास्क लगाएर भोट हाल्न सकिने ओलीको तर्क थियो। यसैगरी ओलीले अमेरिका, जापान र भारतमा पनि महामारीकैबीच निर्वाचन भएको उदाहरण प्रस्तुत गरेका थिए। ‘मतदानमा आएर, दुरी कायम गरेर, मास्क लगाएर भोट हालेर जानसक्छन्। अमेरिका, जापान, भारतको पश्चिम बंगालमा पनि इलेक्सन भएको छ,’ ओलीले भने, ‘चुनाव स्वेच्छाले मात्रै गर्ने होइन। चुनाव खास स्थितिमा हुन्छ। परिस्थितिले चुनाव निम्त्याउँछ। मैले भनेको समयमा भएको भए दुरी कायम गरेर भइसक्थ्यो। हाम्रोमा स्थानीय निर्वाचन त गर्नै पर्छ।’


ओली नेतृत्वको सरकारले शुक्रवार मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेका छन्। त्यसलगत्तै बसेको मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटन र कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो। ओली सरकारले यसअघि पनि गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेको थियो। प्रधानमन्त्रीको उक्त कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि ओलीले संसदबाट विश्वासको मतसमेत गुमाएका थिए।